web analytics

हाम्रो बारे

कञ्चनपुर पुनर्वासको आनन्द बजारमा सिमा रक्षाको निम्ति पुनर्वासका युवा गोविन्द गौतम सहादत भएको घटनाले यस क्षेत्रमा रहेका जनसमुदायमा देशभक्तीको भावनालाई बुलन्द बनायो । त्यस घटनाले यस क्षेत्रका युवाहरू माझ एउटा हलचल ल्याइदियो । शक्तिशाली छिमेकीले सिमाना भित्रै पसेर आफ्नो गाउँले दाजुभाइको हत्या गरीरहँदा, अपमान बोधको पीडा खेपिरहँदा अनि आक्रोशले दाह्रा किटिरहँदा जनतालाई आश्वासन र धैर्यता प्रदान गर्ने माध्यमको अभाव थियोे । जनमानसमा रहेका भ्रमहरुलाई चिरेर यथार्थपरक र हौसला जगाउने खालका समाचार सम्प्रेषण गर्ने संचार माध्यमको त्यसताका कञ्चनपुरको दक्षिणी क्षेत्रमा खडेरी नै देखियो । त्यस खडेरीलाई समाप्त पार्न चिसो पानीको कुलो आवश्यक थियोे । त्यही आवस्यकतालाई महसुस गरि २०७३ सालको अन्ततिर हामीले कञ्चनपुरको दक्षिणी क्षेत्रको संचार क्षेत्रमा नौलो अभियान र आयाम स्वरुप “हाम्रै साझा पत्रिका” नामक साप्ताहिक पत्रिका जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा दर्ता गर्ने निधो गरयौ । र २०७४ साल बैशाख १५ गते जिल्ला प्रशासन कार्यालयमा पत्रिका दर्ता गरी विधिवत रुपमा पत्रिका प्रकाशन गर्न थाल्यौ । त्यसपछि हालसम्म निरन्तर रुपमा अगाडि बढिरहेका छौ । कञ्चनपुरको दक्षिणी क्षेत्रको छापा पत्रकारीतामा आफ्नो छुट्टै पहिचान र छाप छोडन समेत सफल भईरहेका छौ । देश र समाजप्रतिको जिम्मेवारीबोध र देशभक्तिको तातो रापले हाम्रो काँधलाई थोरै झुकाएको छ । तर हामी कहिलेपनि देशद्रोही र भ्रष्टाचारीहरुसंग झुकेका छैनौ । सिमाक्षेत्रमा बसेर पत्रकारीता गर्दा बारम्बार विभिन्न चुनौतीहरुसंग पौठेजोरी खेल्नै पर्ने बाध्यता रहन्छ नै । हामिलाई राम्रोसँग थाहा छ, पत्रकारीताको बाटो अगम्य त छैन तर असहज र मुस्किल चै अवस्य छ । यस बाटोमा गुज्रिरहँदा सुन्दर सुवासित फुलहरु हैन, गाली,धम्की, हातपात जस्ता तिक्त कुरुप तत्वहरुसंग जम्काभेट भईरहन्छ । आफन्तकै भेषमा आएका समाज विरोधी कुतत्वहरुलाई कलम समातेपछि हामी अपरिचित बन्नै पर्ने मुस्किल क्षण समेत हाम्रो अगाडी आउँछ । कैलेकाही हिम्मतले जवाफ दिन खोज्छ, तर यहि बाटोमा हिडिरहेका बखत न्यायप्रेमी र देशभक्तहरुबाट पाईने सम्मान र मायाले हाम्रो मर्न लागेको हिम्मतलाई सञ्जिवनी बुटिको काम गर्छ र पुन: हामिलाई कर्तव्यपथमा लम्कने उर्जा प्राप्त हुन्छ । हामिलाई थाहा छ, सस्तो चर्चा कमाउन जे पायो त्यही लेख्नु पत्रकारीता हैन । पत्रकारीताले समाजलाई सहि दिशा निर्देश गर्न सक्नु पर्दछ । भावी पुस्तालाई परीर्तनको दिशा तिर डोर्‍याउन सक्नुपर्छ र समाजलाई गतिशील बनाउनु पर्दछ । हाम्रा भावी पुस्तालाई शान्त, विकसित र अमनचयनयुक्त देश बनाएर सुम्पने पवित्र कर्ममा हामी निरन्तर प्रयासरत छौ । र सोही कर्मको निरन्तरताको लागि समयानुकूल बनाउँदै पुनर्वास,सुदुरपश्चिम सहित सम्पूर्ण नेपाल एवम नेपालीलाई विश्वभरी चिनाउन तपाईंहरुको लोकप्रिय पत्रिका “हाम्रै साझा पत्रिका”लाई डिजिटल प्रविधिमा लैजाने जमर्को गरेका छौ । तपाईंहरुको आशा र विश्वासलाई कहिले पनि नकुल्चने वाचा गर्दै यस पत्रिकाको डिजिटल संस्करणमा पनि विगतमा झै तपाईंहरुको माया,सहयोग र सद्भाव कायम रहने कुरामा हाम्रै साझा पत्रिका परीवार ढुक्क छ ।

Sponsored Ads