web analytics

सुदुरपश्चिमेली नेपाली समाज! के हो यो ? के का लागि?

लेख

 

लेखक: हेमन्त न्यौपाने

COVID-19 Post ADS

नेपालमा एक प्रचलित उखान छ “काम पाइनस बुहारी पाडाको नाइटो कन्याइदे” हो यहि उखानसंग ठ्याक्कै मिल्ने प्रसंगमा बेलाबेला नेपाली समुदाय रुमलिने गरेको पाइन्छ । सोमबार अष्ट्रेलियाको ब्रिसवनमा नेपालीहरुको महानपर्व विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रमसंगसंगै भेला भएका सुदुरपश्चिमेलीहरुले “सुदुरपश्चिमेली नेपाली समाज” नामक एक गैरनाफा मुखी, गैरराजनैतिक समिति गठन गरे !

सुदुरपश्चिमको भाषा कुनै जाति विशेषको भाषा होइन, यो सिंगो क्षेत्रको लोकप्रिय भाषा हो! आजभोलि सर्वाधिक सफल चलचित्र र म्युजिक भिडियोहरुमा समेत विशेषरुपमै समावेश गरिने यस भाषाको महत्त्व जति सुदुरपश्चिमेली समुदायका लागि छ त्यो अरुमा नहुन सक्छ । यहाँको डेउडा देखि गौरा पर्वको सांस्कृतिक महत्त्व अरुलाई जानकारी नहुन सक्छ । त्यसमा चासो अरुलाई नहुन सक्छ ।

तिनै भाषा,कला र संस्कृतिलाई जगेर्ना गर्दै प्रवर्द्धन गर्न सुदुरपश्चिमेलीहरुले विश्वका धेरै देशमा गठन भैसकेको यो समिति अष्ट्रेलियाको ब्रिसवनमा पनि गठन गरे ! विश्वका अन्य देशहरुमा यस संस्थाले विभिन्न ठुला रोग लागेर उपचार गर्ने आर्थिक जोहो गर्न नसकेकाहरुका लागि अभिभावक जस्तै काम गर्दै आईरहेको छ । नेपालमा बेलाबेलामा हुने प्राकृतिक प्रकोपहरुमा हातमा हात मिलाएर काम गरिहेको छ । रातदिन कामको बोझले दिक्क भएका प्रवासी नेपालीहरुलाई एकीकृत गरेर रमाइलो गराउने वातावरण बनाएको छ । त्यस्तै, प्रयास अष्ट्रेलियामा रहेका सुदुरपश्चिमेलीहरुले गर्न खोजेका हुन ।

एउटा राष्ट्र विभिन्न राज्य, जिल्ला, नगरपालिका, गाउँपालिका हुँदै वडा कार्यालयबाट किन सञ्चालित हुन्छ ? किन एउटै केन्द्रिय सरकारले सिंगो देशको सबै काम गरेको हुँदैन ? बकवास!! किन चाइयो जिल्ला? किन चाइयो नगरपालिका? किन चाइयो वडा ???

एउटा वडाको विकासका लागि ३ वटा छुट्टाछुट्टै सरकारका बजेट आउछन, एउटा केन्द्र सरकारको दोस्रो प्रदेश सरकारको अनि अर्को वडा कार्यालय अर्थात नगरपालिकाको बजेटले विकासका कामलाई पुर्णता दिएको हुन्छ । देशमा राज्यका विभिन्न अंग अनि संस्था अनि संगठनहरु पनि सञ्चालित हुन्छन । यी सबै तह र तप्काहरुले लक्ष्य सुशासन, विकास र समृद्धि नै हो । तर किन चाइयो यत्रा तह र संगठनहरु ? नेपाल हो यहि भएर त नेपाल विकास नभएको भ्रष्टाचार भएको भन्नेतिर दिमाग नचलाउनुहोला ! विश्वका सबै देशको प्रशासकीय प्रणाली यहि नै हो ।

यी प्रश्नहरुको उत्तर सजिलै पाउनुभएन भने एकछिन घोत्लिएर सोच्नुस ! त्यति गर्दापनी उत्तर पाउन सक्नुभएन भने तपाईंमा नकारात्मक सोचले डेरा जमाएको छ भन्ने बुझ्नुस !

यस्तै खाले प्रश्नको भुमरीमा परेको छ “सुदुरपश्चिमेली नेपाली समाज ब्रिसवन, अष्ट्रेलिया शाखा ।

यस समिति गठनका लागि आह्वान गरि पोष्ट गरिएको क्विन्सल्याण्ड नेपाली ग्रुपमा गरिएको पोष्टमा धेरै नकारात्मक टिप्पणीहरु आए, सो लगत्तै समिति गठन पश्चात् हालिएको समाचारमा “यो समिति किन चाइयो यस्ता विभेदकारी समाज र समिति” भन्ने जस्ता प्रश्न उब्जाईए ।

यो र यस्ता खाले समिति विभाजनकारी र विभेदकारी होइनन् र हुँदैनन् भन्ने बुझ्न जरुरी छ । बरु, यस्ता समितिले एकीकृत गर्ने काममा महत्त्वपूर्ण भुमिका खेल्छ । सिंगो नेपाली समुदायलाई प्रतिनिधित्व गर्ने समितिको आवश्यकता रहेको तर यस्ता सानासाना समुदाय नामबाट गठित समिति आवश्यक नरहेको जस्ता प्रतिक्रियाहरु आए, अब यहाँनेर के बुझ्नुस भने तपाईंले भनेजस्तै सिंगो नेपालीको प्रतिनिधित्व गर्ने संस्था यहाँ छैनन् र फेरि गठन गर्नुपर्ने????
सिंगो नेपालीको दु:ख र सुखमा साथ दिन गठन भएका समितिहरु खुल्लम खुल्ला राजनैतिक भागबण्डामा बाडफाँड भएर गठन भई चुपचाप घर बसेको टुलुटुलु हेर्न बाहेक के गर्न सकेका छौ?

यस समिति राजनैतिक समिति होइन, सुदुरपश्चिमेली भन्ने शब्दसंग आपत्ति होभने आफ्नो जिल्ला अनि गाउँलाई स्मरण गर्नुस ! सिंगो नेपाल होईन अलगअलग राज्यका हामी अलगअलग हौ भन्ने आशय कुनैकुनै हालतमा होइन । हामी वीर नेपालीका छोराछोरी हौं ! हामी परदेशमा सिटिजन वा पिआर जे लिएर बसेपनी हामी नेपाली हौं, नेपाली रहन्छौं । देश प्रति हाम्रो आघात माया छ । हामी त बाध्यात्मक परिस्थितिका कारण अवसरको खोजीमा पराइभुमीमा आएका हौं ।

यसरी गठन भएका साना साना समिति र उपसमितिले तपाईंले अहिले नसोचेको ठुलो ठुलो काम गर्न र सहयोग गर्न सक्षम हुन्छन । त्यस्ता प्रशस्तै उदाहरणहरु देख्न सकिन्छ, अध्ययन गर्नुस् ।

 

अहिले तिघ्रामा बोसो लागेको छ, दिमागमा डलरको नशा चडेको छ । त्यतिबेला यस्तै लाग्छ “म त सुपर हुँ, मेरो काम राम्रो छ, कमाई राम्रो छ, फुर्सदको बेला अरुले गर्न खोजेको काममा नकारात्मक कमेन्ट गर्दिउ! तर बाबु ! एउटा कुरा के याद गर्नुभने यहि र यस्तै समिति तिम्रो लागि आवश्यक पर्न सक्छ । घमण्ड कसैले गर्नुहुँदैन ।

अब सुदुरपश्चिमेलीहरु छुट्टीए, अब अन्य कुनै समितिमा बस्दैनन्, सुदुरपश्चिमबाट अन्य ठाँउका मान्छेलाई आवश्यक परेको सहयोग पनि गर्दैनन् भन्ने सोच चाहिँ सँकुचित सोच हो । यसले आफ्नो भाषा संस्कृति र मौलिकतालाई जगेर्ना गर्न भुमिका खेल्ने मात्र हो विभेदकारी संगठन होइन ! कमेन्ट त यसरी गरियो कि सुदुरपश्चिमेलीहरुले कुनै आतंककारी संगठन नै खोले !

निस्वार्थ भावानाका साथ गठन भएका यस्ता संस्थाले उल्लेख्य कामहरु गरेका छन । बरु त्यस्ता संगठन र समितिहरुमा आबद्ध भएर भैपरी आउने सम्भावित आपतमा सहयोग गर्नका लागि समय देउ ! निस्वार्थ भावनाका साथ लागेर गैरराजनैतिकरुपमा अनुभव नभएका नयाँ विद्यार्थीहरुद्वारा गठन गरिएको यस समिति माथि यस्ता नकारात्मक कमेन्ट आउदा समिति नै निराश बन्यो, समाचार डिटेल गरिदिन आग्रह गरियो ।

राम्रो कामलाई राम्रो भन्ने बानी बसालौं! अन्तमा,विजयादशमीको शुभकामना !!

Facebook Comments
Down to post ads-480-38

Comments are closed.