भारतले संसारभरबाट आफ्ना नागरिक फिर्ता ल्याउने, गोवाका नेपाली पनि फर्काउने तयारी

भारतले संसारभरका विभिन्न मुलुकमा अड्किएका आफ्ना केही नागरिकलाई स्वदेश ल्याउने भएको छ।
मे ७ देखि एयर इन्डियाका जहाजहरू पठाएर भारतले स्वदेश नफर्की नहुने अवस्थामा रहेका नागरिकहरूलाई ल्याउन लागेको हो। भारत सरकारले यसलाई विदेशबाट भारतीय नागरिकको अहिलेसम्मकै ठूलो उद्धार अभियान भनेको छ।

जसअनुसार पहिलो चरणमा झन्डै १५ हजार भारतीयलाई स्वदेश ल्याइने भएको छ। उनीहरूलाई ल्याउन एयर इन्डियाले ६४ वटा उडान गर्न लागेको छ।
जहाजमा फर्कनेहरूले भाडा भने आफैं तिर्नु पर्ने सरकारको निर्णय छ। भाडा नलिँदा घर फर्कन चाहने भीड हुने भएकाले ठाउँ हेरेर भाडा निर्धारण गरिएको छ। अमेरिकाबाट भारत आउनेले जनही १ लाख ६० हजार रुपैयाँ तिर्नु पर्नेछ।
यसैबीच भारतको गोवामा रहेका विदेशी कामदारहरूलाई फिर्ता पठाउने तयारी भएको छ। त्यहाँ रहेका नेपाली कामदारहरूलाई पनि फर्काउने तयारी भइरहेको मुख्यमन्त्री प्रमोद सावन्तले जनाएका छन्।
टाइम्स अफ इन्डियाका अनुसार मुख्यमन्त्री सावन्तले स्वदेश फर्कन चाहने नेपालीहरूलाई अधिकारीहरूसमक्ष आफ्नो नाम दर्ता गर्न भनेका छन्।
भारतको केन्द्र सरकारले यसअघि नै कुनै देशले आफ्ना नागरिक फिर्ता लिन चाहे आफूले सहयोग गर्ने बताइसकेको छ।
नयाँदिल्लीस्थित नेपाली दूतावास स्रोतका अनुसार अहिले भारतका धेरै राज्यहरूले बाहिरका मानिसहरूलाई उनीहरूकै ठाउँमा फर्काउन चाहेका छन्।
‘धेरै राज्यहरूले अहिले विदेशी त परको कुरा भारतकै अर्को राज्यका आप्रवासीको बोझबाट मुक्त हुन केन्द्र सरकारलाई अनुरोध गरेको हामीले बुझेका छौं,’ दूतावास स्रोतले भन्यो,‘तर अहिलेसम्म नेपाली फिर्ता लैजानेबारे हामीलाई कुनै जानकारी आएको छैन।’
पछिल्लो समय भारतका विभिन्न सहरबाट रेलमा आप्रवासी कामदारलाई फर्काउने क्रम चलिरहेको छ।
भारतबाट नेपाली कामदार फिर्ता ल्याउनेबारे अन्तिम निर्णय भने नेपाल सरकारले गर्नुपर्छ।
सरकारले विदेशमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउनेबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन।
वैदेशिक रोजगार बोर्डको सचिवालयको तथ्यांकअनुसार मलेसिया, कतार, साउदी अरब, युएई, कुवेत, बहराइन र ओमानबाट मात्रै १ लाख २७ हजार नेपाली तत्काल नेपाल फर्किनुपर्ने अवस्थामा छन्। उनीहरूमध्ये धेरैको भिसाको म्याद सकिएको छ भने केहीले आममाफी पाएका छन्।
Comments are closed.