web analytics

कलुवापुर – बेलौरी सडक कालोपत्रेको काम शुरू 

-हरिश चन्द्र बाग

कञ्चनपुर, २१ मंसिर
कञ्चनपुरको कलुवापुर – बेलौरी सडकखण्ड कालोपत्रेको काम शुरूवात गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार तथा योजना मन्त्री पठान सिंह बोहरा र प्रदेश सभा सदस्य लाल बहादुर खड्काले शनिबार संयुक्त रूपमा रिबन काटेर कालोपत्रेको काम थालनी गर्नुभएको हो । यसै क्रममा मन्त्री बोहराले यथाशीघ्र सडक कालोपत्रे गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । उहाँले काममा फेरि पनि ढिलासुस्ती गरे कार्वाहीको भागेदार हुनुपर्ने चेतावनी दिनुभएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेश सभा सदस्य लाल बहादुर खड्काले म्याद सकिएको लामो समयसम्म पनि काममा चाँसो नदेखाएकोले तत्काल म्याद थप गर्न नहुने बताउनु भयो । निर्माण कम्पनीले कामलाई तीब्रता दिएमा मात्रै म्याद थप गर्ने बारे सोच्न सकिने उहाँको जिकिर छ ।

COVID-19 Post ADS

सडक निर्माण कम्पनी सन्तोषी–थेगिम जेभी कैलालीले सम्झौता सकिएको झण्डै १५ महिना पछि सडक कालोपत्रे गर्न तदारुकता देखाएको छ । २७.५ किलोमिटर मध्ये तत्काललाई कलुवापुरको जंगल देखि करीब ११.५ किलोमिटर दक्षिण तिर कालोपत्रे गर्ने योजनामा निर्माण कम्पनी छ । त्यस्तै आउँदो बैशाख सम्म पूरै सडक कालोपत्रे गरिसक्ने निर्माण कम्पनीले जनाएको छ । संघीय सरकारले तीन वर्ष पहिले ठेक्का दिएको सडकखण्ड एकाएक गतवर्ष प्रदेश सरकारलाई हस्तान्तरण गरिएपछि उक्त सडकखण्ड निर्माणको कार्य अलपत्र अवस्थामा रहेको थियोे । केन्द्रले दिएको ठेक्का अवधि नसकिँदै बिना बजेट उक्त सडकखण्ड प्रदेश सरकारलाई हस्तान्तरण गरिएको प्रति यहाँका जनता आक्रोशित बन्दै आएका छन् । प्रदेश सरकारले समेत चालुआर्थिक वर्षको बजेटमा बेलौरी–कलुवापुर–नाइल–बुडर सडकखण्ड नाम दिई प्रदेशको गौरवको योजनामा राखेपनि जम्मा तीन करोड मात्रै बजेट विनियोजन गरेको छ ।

झण्डै चार दशकदेखि कालोपत्रेको पर्खाइमा रहेको कलुवापुर-बेलौरी सडकखण्ड निर्माणमा बारम्बार यहाँका नेताहरुले चुनावी नारा बनाएर जनतालाई झुक्क्याउने र ठेकेदारले समेत बेलाबेलामा सडक निर्माण गर्छु भन्दै प्रतिबद्धता जनाएर सर्वसाधारणलाई ठग्ने कार्य गर्ने गरेको प्रति स्थानीयले आक्रोश पोख्दै आएका छन् ।कलुवापुर–बेलौरी सडकखण्ड कालोपत्रेका लागि वि.सं. २०७३ भदौ १७ गते सन्तोषी थेगिम जेभि, कैलाली नामको निमार्ण कम्पनीसंग वि.सं.२०७५ भदौ १५ गतेसम्म कालोपत्रे गरिसक्नु पर्ने ठेक्का सम्झौता भएको थियो । भ्याट बाहेक १६ करोड ११ लाख सम्झौता रकम रहेको उक्त सडकखण्ड ७.५ मीटर चौडाई रहनुपर्ने र ५.५ मीटर चौडाई कालोपत्रे गरिनुपर्ने उल्लेख छ । पूर्वपश्चिम राजमार्गसँग दक्षिणी क्षेत्र जोड्ने जम्मा २७.५ किलोमिटर लम्बाई रहेको उक्त महत्वपूर्ण सडकखण्ड स्तरोन्नती नहुँदा यहाँका नागरिक कष्टकर यात्रा गर्न बाध्य छन् । हिउँदमा धुलाम्य र वर्षातमा हिलाम्य हुने उक्त सडकखण्डका कारण उनीहरुको दैनिकीमा नै नराम्रो असर परिरहेको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.