web analytics

लाहुरेमा एचआईभी संक्रमण सबैभन्दा बढी 

डडेल्धुरा : एचआईभी संक्रमित हुनेमध्ये रोजगारीका लागि भारत जाने लाहुरेको संख्या धेरै भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। डडेल्धुरा जिल्लाका १ सय ३६ संक्रमितमध्ये अधिकांश भारतमा कामका लागि जानेहरू रहेको कार्यालयले जानकारी दिएको छ।

Sponsored Ads

ती संक्रमितमध्ये पनि ९६ जनाले मात्र एआरटी औषधि सेवन गर्ने गरेका छन्। बाँकी संक्रमित फेरि रोजगारीका लागि भारत फर्कने भएकाले नियमित औषधि सेवन नगरेको पाइएको छ। ८ जना बालबालिकासमेत संक्रमित छन्। संक्रमितमध्ये ४३ पुरुष र ५३ महिलाले नियमित एआरटी लिइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

करिब १० वर्षदेखि एआरटी सेवा लिइरहेकी पशुपति साउदले भनिन्, ‘कामको सिलसिलामा भारत गएका लोग्नेबाटै आफू संक्रमित भइयो। पतिको पनि १० वर्षअघि मृत्यु भइसक्यो।’ उनले संक्रमितलाई घरखर्च चलाउन पनि धौ धौ रहेको बताइन्। एक सन्तानकी आमा अनितादेवी सार्की पनि एचआईभी संक्रमित हुन्। उनले भनिन्, ‘कामका लागि भारत गएका पतिबाटै म पनि संक्रमित भएँ।’ तर उनले ७ वर्षको आफ्नो बच्चा भने संक्रमित नभएको बताइन्।

रोजगारीका लागि भारत जाने गरेका युवामार्फत् नै एचआईभी भित्रिने गरेको स्वाथ्य कार्यालय डडेल्धुराका सूचना अधिकारी जनक चन्दले बताए। उनले भने, ‘एआरटी लिइरहेका ९६ जना एचआइभी संक्रमितहरू सबै रोजगारीमा भारत गएकाहरू हुन्, त्यसैले गरिबीका कारण काम गर्न भारत जाने लाहुरेमा एचआईभी धेरै देखिएको छ।’ दुई वर्षयता संक्रमित ३ महिला र २ पुरुषको मृत्यु भएको कार्यालयका सूचना अधिकारी चन्दले बताए। समयमै एआरटी सेवा नलिँदा उनीहरूको मृत्यु भएको उनको भनाइ छ।

भित्री मधेसमा पर्ने परशुराम नगरपालिकाको जोगबुडा क्षेत्र सबैभन्दा संवेदनशील रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। खुला सिमाना र कुनै परीक्षण नहुने भएकाले लाहुर जानेमा एचआईभी धेरै देखिएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष    श्रेष्ठले बताए। भारत जाने संक्रमितले नियमित औषधि सेवन र परीक्षण नगर्दा एचआईभी संक्रमितको तथ्यांकसमेत राख्न कठिन भएको उनले बताए।

घरपविारको खर्च धान्न जोगबुढाबाट कामका लागि भारत जानेको संख्या धेरै छ। असुरक्षित यौन सम्पर्क, लागुऔषध सेवन र सुई र अन्य माध्यमले एचआईभी संक्रमित भएर आउने स्वास्थ्यकर्मी बताउँछन्। काम गर्न जाने युवा र पुरुष नै धेरै संक्रमित भएको परशुराम नगरपालिका स्वास्थ्य शाखा सहायक हिक्मतबहादुर धामीले बताए।

०७३ सालमा १ सय ७ जना एचआईभी संक्रमित रहेको डडेल्धुरामा ०७४ मा १ सय २१ पुगे। अहिले भने एचआईभी संक्रमितको संख्या १ सय ३६ पुगेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ।

अन्नपूर्णबाट।

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.