web analytics

लालझाडी ३ को वडा कार्यालयमा तालाबन्दी

कञ्चनपुर, २२ कार्तिक
कञ्चनपुरको लालझाडी ३ को वडा कार्यालयमा तालाबन्दी भएको छ । आज दिउँसो एक बजेतिर नेकपाको लालझाडी वडा ३ कमिटीका अध्यक्ष छेदकलाल चौधरीको नेतृत्वमा गएको नेकपाका कार्यकर्ता र सर्वासाधारणको समूहले वडा कार्यालयमा तालाबन्दी गरेको हो ।
हप्ता दिन अघि नै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) वडा कमिटी, लालझाडी ३ ले लालझाडी गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालय नसार्न माग गरेको थियो । नेकपा लालझाडी गाउँपालिका वडा नम्बर ३ कमिटिले अहिलेकै स्थानमा यथावत राख्न माग गरेको हो ।
नेकपा ३ नम्बर वडा कमिटिले बल्मीमै वडा कार्यालय राख्न माग राख्दै वडाध्यक्ष र गाउँपालिकामा ज्ञापन पत्र समेत बुझाएको थियो । नेकपा लालझाडीका नेकपा वडा कमिटी सदस्य अमरसिह रानाले आफुहरुले वडा कार्यालय नसार्न निर्णय सहीत माग गरेपनी वडा कार्यालय र गाउँपालिकाको कार्यालयबाट बेवास्ता भएकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको बताउनुभयो ।
हाल सवैलाई पायक पर्ने स्थानमा रहेको वडा कार्यालयलाई एकान्त कुनामा सार्न खोजिएकाले नसार्नका लागि स्थानीय जनता सहित नेकपाले माग अघि सारेको उहाँको भनाइ थियो ।
नेकपा लालझाडीका नेता रानाले वडाध्यक्ष टिकाराम चौधरी र गाउँपालिका प्रमुख मदन सेन बडायकलाई ज्ञापन पत्र बुझाएको बताए । उनका अनुसार साविक स्थानमै वडा कार्यालय हुनुपर्छ, नयाँ ठाँउमा सारेर भवन निर्माण गर्न लागिएको टेण्डर बदर गर्न समेत माग गरिएको थियो ।
लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले एकदुई दिन भित्रै छलफल गरेर यो समस्याको समाधान गरीने बताउनुभयो । “हाम्रै साथीहरू हुनुहुन्छ, थोरै मिस अण्डरस्ट्याण्डिङ भाको छ । एक दुई दिन भित्रै समस्या समाधान हुन्छ” अध्यक्ष बडायकले भन्नुभयो ।
लालझाडी गाउँपालिका ३ नम्बर वडाका अध्यक्ष टीकाराम चौधरीले नयाँ ठाँउमा सार्न लागेको वडा कार्यालय सबैलाई पायक पर्ने दावि गरे । वडाध्यक्ष चौधरीले पुरै प्रकृया पु-याएर वडा कार्यालय सार्ने र भवन निर्माणका लागि ठेक्का प्रकृया भइसकेपछि विवाद झिकिएको बताए । ‘वडा कार्यालयको जमिनका लागि हामीले १५ दिने सुचना जारी गरेका थियौँ, ‘वडाध्यक्ष चौधरीले भने, ‘त्यतिबेला कसैले पनि हाम्रो सुचनाको वास्ता नै गरिदिएन, अहिले आएर केही व्यक्तिले विरोध गरिरहेका छन् ।’ स्थानीय वासीले सबै जनताको पायक पर्ने स्थानमा वडा कार्यालय राख्नुपर्ने माग गर्दै आएका छन ।

Facebook Comments
COVID-19 Post ADS
Down to post ads-480-38

Comments are closed.