web analytics

नवरात्रको छैठौँ दिन, कात्यायनीको पूजा गरिंदै

नवरात्रिको शुक्रबार छैठौँ दिन, आज देवी कात्यायनीको पूजा गरेर मनाइँदै छ।नवरात्रका नवै दिन नवदुर्गाका नौवटा स्वरूपको पूजा गरी मनाइने प्रचलन हिन्दु समाज तथा शाक्त मतावलम्बीमा छ। नवरात्रिभर देशका विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्दछ।

देवी कात्यायनीलाई प्रसिद्ध ऋषि कात्यायनकी पुत्री मानिन्छ। महिषासुरको वध गर्न देवीले कात्यायनीको रूप धारण गरेको धार्मिक कथा पाइन्छ।

नवग्रहमध्ये बृहस्पति ग्रहको अधिष्ठात्री मानिन्छ, देवी कात्यायनीलाई। अध्यात्ममा भने उनलाई मानव शरीरको आज्ञा चक्रसँग सम्बन्धित मानिन्छ।

सिंहको आसनमा देवी कात्यायनी विराजमान हुन्छिन्। उनको चार हातमध्ये बायाँ हातमा क्रमशः पद्म र तरबार हुन्छ भने दायाँ हातले क्रमशः अभय मुद्रा र वरद मुद्रा प्रदर्शन गरेको हुन्छ।

भागवत् महापुराणको १० औँ स्कन्दको २२ औँ अध्यायमा गोकुलका गोपीहरूले भगवान् श्रीकृष्णलाई स्वामी रूपमा पाऊँ भनी मङ्सिर महिनामा कात्यायनीको व्रत बसेको वर्णन पाइन्छ।

Sponsored Ads

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.