web analytics

(सम्पादकीय )खुला सिमाना र अवैध बाटाहरुलाई उच्च निगरानीमा राखौ ।

१३ औँ राष्ट्रिय मानव बेचविखन तथा ओसारपसार नियन्त्रण दिवस मनाईरहँदा मानव बेचबिखन घटेको भन्दा पनि बढदै गईरहेको तथ्यांकहरुले देखाएका छन । खुला सिमाना,थुप्रै अवैध बाटाहरु र कमजोर सुरक्षा व्यवस्थाले मानव बेचबिखनलाई सहज बनाईरहेको छ ।
कैलाली र कञ्चनपुरको सीमा नाकाबाट आ.ब.
०७५/७६ मा ३ सय ७९ चेलीको उद्धार गरिएको छ ।
कैलालीको त्रिनगर भन्सार नाकाबाट भारततर्फ बेच्न लैजाँदै गरेका १ सय ५७ युवतीको उद्धार गरेको माइती नेपालले जनाएको छ । तीमध्ये ४५ बालबालिका नाबालिक उमेर समूहमा पर्छन् । उक्त संस्थाले कञ्चनपुरको गड्डाचौकी सीमाबाट २ सय २३ युवतीको उद्धार गरिएको जनाएको छ । भारतबाट १३ जनाको उद्धार गरिएको छ । पढेलेखेका महिलाहरु जोखिम थाहा पाउँदा–पाउँदै पनि धन कमाउने लोभमा दलालको चक्रब्युँहमा पर्ने गरेको देखिएको छ । गत आवमा उद्धार गरिएका महिलामा ९० प्रतिशत धन कमाउने लोभमा दलालको फन्दामा परेको देखिन्छ । त्यसैगरि पछिल्लो समयमा म्यारिज ब्युरो र अनलाइन विवाहका नाममा पनि युवती बेचिन गरेको पाइएको छ । वैदेशिक रोजगारका नाममा खाडी मुलुक लैजाने भन्दै भारतका विभिन्न सहरमा बेचिएका चेलिबेटीको समेत उद्धार गरिएको छ । महिला वैदेशिक रोजगारमा आकर्षण बढेको कारण बेचबिखनको जोखिममा बढी परेका छन । दलालहरुले नेपालबाट भारत लगी त्यतैबाट विदेश लगेर विक्री गर्ने गरेको तथ्य जगजाहेर छ ।भारतको दिल्ली पुग्न सजिलो र छोटो हुने भएर नेपालको पश्चिम नाकाको प्रयोग बढेको देखिन्छ । पश्चिमको तुलनामा पूर्वी नाकामा सुरक्षा कडाइ हुने र खुला अवैध नाका पश्चिममा बढी भएको कारण पनि पश्चिमी नाका प्रयोग बढी भएको हो । पश्चिमका सीमा नाकाहरूमा चेलिबेटी बेचबिखन तथ्यांकमा देखिए भन्दा कैयौं गुणा बढी अवैध नाकाबाट हुने गरेका छन् । पश्चिमको वैधानिक सीमा नाका कञ्चनपुरको गड्डाचौकी, कैलालीको टीकापुर खक्रौला र धनगढी भन्सार मात्रै हुन् । चेलीबेटी बेचबिखनमा निगरानी गर्ने संस्था माइती नेपालको गड्डाचौकी र धनगढी भन्सारमा मात्रै चेकपोस्ट रहेको छ । कैलाली-कञ्चनपुरको १ सय २ किमि सीमा क्षेत्रको जुनसुकै अवैध नाकाबाट पनि दलालले चेलीबेटीलाई सजिलै सीमा कटाउन सक्छन् । माइती नेपालले गरेको एक अध्ययनअनुसार कैलालीको भजनी,लालबोझी, हसुलिया, फूलबारी, कञ्चनपुरको बेलौरी, पुनर्वास, दोधाराचाँदनी, बैतडीको झुलाघाट र दार्चुला नाकाबाट चेलीबेटी बढी बेचबिखनमा पर्ने गरेका छन् । त्यसैकारण खुला सिमाना र अवैध बाटाहरुलाई उच्च निगरानीमा राख्न सके चेलीबेटी बेचबिखन धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ ।

Sponsored Ads

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.