web analytics

आजको हाम्रै साझा पत्रिकामा के छापियो ?

 

Sponsored Ads

मुख्य समाचार

आफ्नै १२ बर्षिया भदैसाली बलात्कार गरि फरार

शृङ्खलावद्ध बलात्कारका घटना बढ्दै !

हेमन्त न्यौपाने
पुनर्वास, भदौ ०१

भदौ ०२ गते सोमबार प्रकाशित हाम्रै साझा पत्रिकाको पहिलो पृष्ठ ।

कञ्चनपुरको पुनर्वास नगरपालिकामा एक १२ बर्षिया बालिका आफ्नै फुपाजुबाट बलात्कृत भएकी छन । वडानम्बर ६ (ङ) गाउँमा घरमा कोहि नभएको मौका छोपी नजिकै घरभएका रमेश भनेर चिनिने ३२ बर्षिय राम बहादुर कामीले बालिका माथी जबर्जस्ती करणी गरेको खुल्न आएको छ ।

साउन २८ गते दिउँसो करिव ११ बजे तिर भएको घटना २ दिन पछी साउन ३० गते मात्र बाहिर आएको थियो । घटना सार्वजनिक भएपछी सोही दिन राती १० बजे नै जाहेरी दर्ता गरिएको थियो । घटना सार्वजनिक भएको चाल पाएपछि अभियुक्त फरार छन । अभियुक्तलाई खोज्न प्रहरी तथा स्थानीयले प्रयास गरे भेट्न भने सकेनन् अभियुक्त भारततर्फ भागेको हुनसक्ने अनुमान गरिएको छ ।

घटना भएको केहि बेर सम्म बेहोस भएकी बालिकालाई उठाएर ‘कसैलाई भनिसभने तेरो आमाबुवा र तलाई पनि मारिदिन्छु, कसैलाई नभन’ भनी धम्की दिएकाले आफू धेरै डराएको पीडित बालिकाले हाम्रै साझा पत्रिकासंग बताइन । उनले ज्यान मार्ने धम्की दिएकाले आफुले आमाबुवालाई समेत घटना बारे नभनेको बताईन ।

पीडित बालिकालाई साउन ३१ गते कैलालीको सेती अञ्चल अस्पतालमा मेडिकल जांच गराईएको छ । सोमबार सम्म मेडिकल रिपोर्ट आउने ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ । अभियुक्त राम बहादुर कामीलाई पक्राउ गर्न जिल्ला अदालत कञ्चनपुरले आइतबार आदेश दिएको छ । अभियुक्त कामीका दुईछोरा, दुईछोरी र श्रीमती छन ।

कसरी भयो घटना

पीडित बालिकाको बुवाआमा मेलापातमा गएको साउन २८ गतेका दिन उनी एक्लै घर कुरेर बसेकी थिइन । घरमा कोहि नभएको चाल पाएपछि ससुराली आएका अभियुक्त राम बहादुर कामीले बालिकालाई जबर्जस्ती समातेर कोठाभित्र थुनेर बलात्कार गरे । बलात्कारमा परेपछि बालिका रोएर बेहोस भइन । सोही क्रममा अभियुक्तको छोरी अञ्जली विक मामाघर आइन तर भित्र कोहि रोइरहेको आवाज आएपछि उनले ढोकाको चरबाट नियालेर हेरिन । उनले आफ्नो बुवाको कर्तुत आफ्नै आँखाले देखिन । अभियुक्तकी छोरी अञ्जली विक नै घटनामा प्रत्यक्षदर्शी भएपछि उनबाटै घटनाको वास्तविकता सार्वजनिक भयो । उनले ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बयान समेत दिएकी छन । फरार अभियुक्तलाई प्रहरीले खोजिरहेको छ । नयाँ मुलुकी ऐन अनुसार १० बर्षदेखि माथी १४ बर्षमुनीका बालिका बलात्कार भएकामा १६ बर्ष जेल सजाय तोकिएको छ ।

शृङ्खलावद्ध बलात्कारका घटना बढ्दै

पछिल्लो समय शृङ्खलावद्धरुपमा बलात्कारका घटनाहरु सार्वजनिक भईरहेका छन । गतबर्ष जस्तै यस बर्षपनि शृङ्खलावद्ध भईरहेको बलात्कारको घटनामा कमि आएको छैन । केहिदिन अधि मात्र पुनर्वास नगरपालिका वडा नम्बर १ मा आफ्नै छोरी बलात्कारको अभियोगमा एकजना पक्राउ परेका थिए । आफ्नै छोरीलाई पटकपटक बलात्कार गर्दै आइरहेका ३९ बर्षिय हर्क बहादुर (नाम परिवर्तन)लाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले पक्राउ गरेको थियो ।

आइतबार मात्र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा युवतीमाथि सामुहिक बलात्कारको आरोपमा दुई जना पक्राउ गरेका छन । शुक्लाफाँटा नगरपालिका ९ नौखरीकी १७ वर्षिय युवतीमाथि सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शुक्लाफाँटा नगरपालिका–११ का १९ बर्षिय धिरेन्द्र थापा र सोही ठाउँकै भुपेश ऐरलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको हो। उनीहरुलाई ईलाका प्रहरी कार्यालय झलारीको टोलीले शनिबार पक्राउ गरेको प्रहरी निरीक्षक नैनसिंह साउँदले बताए । उनका अनुसार घटनामा ५ जनाको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । अन्यको खोजी कार्य भईरहेको समेत उनले बताए ।

सम्पादकीय

बलात्कारका सरकारले हैन,संस्कारले रोक्छ

  • केही बर्ष देखि सुदुर पश्चिम लगायत नेपालभरी बलात्कारका काण्डहरु घटिरहेका छ्न । दैनिक बलात्कारका समाचार आईरहनु आफैमा अत्यन्त घृणित र लज्जास्पद कुरो हो । तर यसो भन्दैमा घटनामा कमि आउन सक्दैन । यसका लागि सबै पक्ष जिम्मेवार बन्न जरुरी छ । किनभने कुनै व्यक्ति र संस्थाको एक्लो प्रयासले बलात्कार रोक्न सम्भव छैन।
    साधारण शब्दमा बलपूर्वक यौन सम्बन्ध स्थापित गर्नुलाई ‘बलात्कार’ भनिन्छ । जब कुनै पनि व्यक्तिले आवेगमा आएर वा योजनाबद्ध रूपले बलपूर्वक वा लागूपदार्थ खुवाएर विपरीत लिंगीसंग यौनक्रिया गर्छ भने त्यसलाई बलात्कार भनिन्छ । बलात्कारीले यौनक्रिया गर्नका लागि पीडितलाई हतियारले वा मुक्का तथा खुट्टाले पिट्ने, कुट्ने, घाइते बनाउने तथा मार्ने कार्यसमेत गर्छन् । बलात्कार एउटा कामुक विचलनका साथै कानुनी रूपमा अपराध हो । हाम्रो देशमा आजभोलि बलात्कारको घटना ह्वात्तै बढेपछि यसलाई प्रभावकारी तरीकाले रोक्न सकिएको छैन । बलात्कारको घटनालाई राजनीतिक रोटी सेक्ने साधनको रुपमा विकास गर्दै जाने र दोष अरुलाई दिने काम गर्नुभन्दा सबैले आआफ्नो ठाउँबाट काम गरे बलात्कारका सम्भावनाहरु क्षीण हुने कुरामा दुईमत हुन सक्दैन । समाज,परीवार,अभिभावक,स्कुल देखि लिएर देशका सञ्चार माध्यम जिम्मेवार हुनै पर्छ । तर “बलात्कार सरकारले हैन, संस्कारले रोक्न सक्छ” भन्ने मान्यतालाई आत्मसात गर्दै हाम्रा कलिला बालबालिकालाई सहि तरीकाको संस्कार सिकाउन सके भोलि नेपाली शब्दकोषबाट बलात्कार शब्दको सदा सदा अन्त्य हुने कुरा ध्रुवसत्य छ ।
Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.