web analytics

सम्पादकीय/के हाम्रो राष्ट्रवाद ओईलिएको हो ?

२०७२ सालमा भारतले लगाएको नाकाबन्दीका बेला तत्कालीन प्रतिपक्षी दलका रूपमा नेकपा एमालेका अध्यक्ष ओलीले भारतविरुद्ध निकै चर्का र आक्रोशित अभिव्यक्ति दिएर राष्ट्रवादी नेताको छवि बनाएका थिए । ओलीको राष्ट्रवाद उनी पहिलो पटक प्रधानमन्त्री हुँदादेखि नै कमजोर हुुँदै  गएको थियो । नेपालमा सत्ता गठबन्धनमा भारतकै ठूलो हात हुन्छ भन्ने पनि सत्ताबाहिर रहेका नेताले सत्तामा पुगेपछि दिने अभिव्यक्तिले प्रस्ट पार्छ । नाकाबन्दीका बेला ‘बरु साइकल चढेर हिँडिन्छ तर भारतसामु झुकिन्न’ भन्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पार्टीको बलियो सरकार यतिबेला देशमा छ । अहिलेको समस्या त्यति ठूलो पनि होइन तर यसैमा बलियो भनेको सरकारले आफ्नो हैसियत देखायो । वाणिज्य मन्त्रालयको प्रस्तावमा सरकारले असारदेखि लागू हुने गरी आयातित तरकारी तथा फलफूलमा विषादीको चेक जाँच गरेर मात्रै नेपाल भित्र्याउने निर्णय गरेको थियो । राजपत्रमा सूचना प्रकाशित गरेरै कार्यान्वयनमा ल्याउन लागेको निर्णय भारत सरकारको दबाबकै कारण सरकारले फिर्ता लिएको छ, जुन बिषयमा कसैले चासो दिएको थिएन । सरकार आफैँले त्यसलाई गिजोलेर छोड्यो । कडाइसाथ कार्यान्वयनमा ल्याउन नसक्ने विषयलाई चलाउनु नै ठीक थिएन । पर्याप्त पूर्वाधार र प्रयोगशालाको अभावलाई कारण देखाउँदै सरकारले पुनः पहिले जस्तै तरकारी, फलफूल बोकेका सवारी साधनलाई नेपाल भित्रन दिने भएको छ । जेजे कुरालाई कारण देखाए पनि विषादी चेकजाँच गर्ने निर्णय फिर्ता लिनु भारत सरकारको एकोहोरो दबाबसामु नेपाल सरकारको आत्मसमर्पण नै हो । त्यसैले अहिले नेपालको इतिहासमै बलियो भनेको दुई तिहाइको सरकार फेरि एकपटक भारतसामु लत्रिन पुगेको छ । यसले फेरि के देखायो भने अलिअलि च्यातिँदै गएको वर्तमान सरकारको राष्ट्रवाद अब पुरै कमजोर  परेको छ । सरकारको अल्लारे निर्णयबाट सर्वसाधारण प्रत्येक दिन अचम्मित भइरहेका छन् । कुनै निर्णय गर्दा त्यसको दीर्घकालीन असरबारे हेक्का नराख्ने सरकारले के गर्ला खै ? एकपछि अर्को निर्णयबाट पछाडि हट्ने जुन प्रवृत्तिको पुनरावृत्ति भइरहेको छ, त्यसले सरकार कमजोर बन्दै गएको देखाउँछ । विदेशी शक्तिकेन्द्रको अगाडि घुँडा टेक्ने गरेको पुष्टि भएको छ । विषादीयुक्त तरकारी र फलफूल परीक्षणपश्चात् नेपाल प्रवेश गर्न दिने सरकारी निर्णयले जनता खुसी भएका थिए । विषादीरहित तरकारी तथा फलफूल खान पाउने भइयो भनेर रमाएका थिए तर जनताको त्यो खुसी एकदिन पनि टिकेन । भारत सरकारको विरोधका कारण सरकारले निर्णय फिर्ता लियो । यो लज्जाको विषय हो । सरकारको उत्ताउलो राष्ट्रवादको परिणाम हो ।  जनता अभाव र पीडामै छन् । करिब ४४ प्रतिशत तरकारी भारतबाट आयात हुने गर्छ । यो कृषिप्रधान मुलुकका लागि दुःखद् हो । नेपाली कृषकले उत्पादनको उचित मूल्य पाउन सकिरहेका छैनन् । के भारतले नेपालीले विष खानुपर्छ भन्दा पनि दुई तिहाइको सरकार लम्पसार  पर्नुपर्छ ? यो हुन्न भन्न सक्दैन ? के हाम्रो राष्ट्रवाद ओईलिएको हो ?

Sponsored Ads

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.